April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

धर्मको खोल ओढेर राजतन्त्र फर्काउने प्रतिगामी षड्यन्त्र

२०८२ जेष्ठ २७

976

  • खेम सेन्चुरी

आज फेरि केही प्रतिगामी शक्तिहरू राजा र धर्मको नाममा सामन्ती शासन फर्काउने खेलमा छन् । तर, यसपटक उनीहरू पुरानै शैलीमा मात्र फर्किएका छैनन्ः उनीहरूले अब धर्मको खोलसमेत ओढेका छन् । ‘सनातन धर्म जोगाउनु छ’, ‘संस्कार जोगाउनु छ’, ‘राजा आए देश बच्छ’ भन्ने भ्रामक नाराहरूको खोल ओढेर फेरि जनताको शिरमाथि राजाको मुकुट थोपर्ने उनीहरूको असली उद्देश्य हो ।

धर्म, संस्कृति र राजाको कृत्रिम मिलन
नेपालका केही समूहहरू आज ‘धर्मको रक्षा’ भन्दै राजतन्त्रको पक्षमा उत्रिएका छन् । तर बुझ्न जरुरी छ, राजतन्त्र न त धर्मको रक्षक थियो, न संस्कृतिको नै संवाहक । धर्मको नाममा राजाले जनतालाई दमन ग¥यो, महिलालाई अशिक्षित राख्यो, दलितलाई मन्दिर छिर्न रोक्यो, जनताको स्वतन्त्रतामाथि अंकुश लगायो । राजा आफैँलाई ‘भगवान्’ भन्न लगाउँथे, र त्यो ‘भगवान’ सिंगो राज्यको सत्तामाथि बसेको थियो ।

धर्मको प्रयोग, जनतामाथिको शासनको उपकरण
हिजोका राजा र दरबारियाहरूले जनतालाई डर, अन्धविश्वास र भक्तिको कुलत लगाएर शासन गरेका थिए । “राजा विष्णु भगवानको अवतार हुन्” भन्ने मनोविज्ञान बनाएर उनीहरू जनतालाई मौन गराइन्थ्यो । कुनै प्रश्न उठ्यो भने त्यो ‘धर्मविरोधी’ ठहरिन्थ्यो । धर्मको नाममा मानिसलाई मूर्ख बनाउने, आत्मसमर्पण गर्न लगाउने र त्यो आत्मसमर्पणको आधारमा शासन चलाउने—यही थियो दरबारको राजनीति । आज फेरि उही राजनीति दोहोर्‍याउने षड्यन्त्र चलिरहेको छ ।

धर्मको खोल ओढेका व्यापारीहरू
यी कथित धर्मरक्षकहरू वास्तविक धर्मका अनुयायीहरु होइनन् । उनीहरूका लागि धर्म एउटा राजनीतिक औजार हो । राजालाई फर्काएर फेरि आफ्नो वर्गीय स्वार्थ सुरक्षित राख्ने माध्यम हो । धर्मको नाममा राजाको पक्षमा भिड जम्मा गर्नु, राजा आएपछि हिन्दु राष्ट्र घोषणा गर्नु अनि त्यसैको आडमा महिला, दलित, जनजाति, अल्पसंख्यकमाथि पुनः दमन थोपर्नु –यही हो उनीहरूको योजना । त्यसकारण हामी स्पष्ट हुनुपर्छ कि यी प्रतिगामी शक्तिहरूलाई ‘धर्म’ होइन ‘सत्ता’ चाहिएको हो ।

राजा फर्काउने अभियानः गणतन्त्रविरुद्धको युद्ध
राजा फर्काउने अभियान केवल राजाको लागि होइन, त्यो आन्दोलन नेपालको धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता र समावेशितामाथिको प्रत्यक्ष आक्रमण हो । यो आन्दोलनको मूल वैचारिकीले भन्दछः “महिला समानता होइन, पितृसत्ता ।”, “सबैका अधिकार होइन, शासक वर्गको विशेषाधिकार ।”, “वैज्ञानिक सोच होइन, अन्धविश्वास” । हिजो जसले धर्मको नाममा राजालाई भगवान बनायो, आज उसैको सन्तान फेरि जनतालाई उही चक्रमा फसाउन खोज्दैछ । तर हामीले बुझ्नुपर्छ, राजा फर्काउने आन्दोलन न त धर्मप्रति निष्ठा हो, न राष्ट्रप्रेम । त्यो केवल एक जात, एक वर्ग, एक वंश र एक लिंगको लाभका लागि चलाइएको राजनीतिक षड्यन्त्र हो ।

त्यसकारण धर्मलाई निजी आस्था बनाऔँ, सार्वजनिक शासन प्रणाली वैज्ञानिक र लोकतान्त्रिक बनाऔँ । धर्मको नाममा फेरि एकल जात, वंश र लिंगका नाममा शासन गर्ने अभ्यासको विरोध गरौँ । धर्म कहिल्यै पनि राज्यको सिंहासन चलाउने औजार हुन सक्दैन । राजा फर्काउने सपना झुटो हो, धर्मको खोलले त्यसलाई अझ खतरनाक बनाउँछ । त्यसैले हालसम्म नेपाली जनताले गरेका त्याग, तपस्या र बलिदानको उपलब्धिको रक्षा गर्दै, वर्तमान व्यवस्थाले पनि नेपाली जनताको आधारभूत समस्यासमेत हल गर्न नसकेको हुँदा वास्तविक जनताको शासन, वास्तविक गणतन्त्र र वास्तविक धर्मनिरपेक्षताको निर्माण गर्नतर्फ अघि बढ्नुपर्दछ । प्रतिगमन र यथास्थितिकाविरुद्धमा अग्रगामी आन्दोलन नै आजको आवश्यकता हो ।