काठमाडौंः पाटन संयुक्त क्याम्पसमा “थाहा चाहियो अभियान” सुरुवात भएको छ । क्याम्पस र स्ववियुको हिसाब खोज्न, क्याम्पस र स्ववियुलाई विद्यार्थीमैत्री बनाउन र क्याम्पस प्रशासन र स्ववियुलाई जिम्मेवार बनाउन भन्दै वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपाल पाटन क्याम्पस समितिले उक्त अभियान सुरुवात गरेको हो ।
संगठनले क्याम्पसका प्रत्येक कक्षाहरुमा गई विद्यार्थीहरुलाई क्याम्पसमा भएको आर्थिक अनियमितता तथा प्रशासनिक बेथितिहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदै त्यसका विरुद्धमा हस्ताक्षर संकलन गरिरहेको छ । आइतबार सुरु भएको उक्त हस्ताक्षर संकलन अभियान क्याम्पसका सबै विद्यार्थीहरुमाझ पुगेर मात्रै अन्त्य गरिने र त्यस पश्चात क्याम्पस प्रशासनलाई बुझाउने तयारी रहेको संगठनका एकाई अध्यक्ष बम बहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
पछिल्लो समय पाटन संयुक्त क्याम्पसमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले निरन्तर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यस अघि क्याम्पसको आर्थिक पारदर्शिता सुनिश्चित गर्ने प्रयोजनका लागि भन्दै संगठनले स्ववियुको हालसम्म भएका सबै आर्थिक गतिविधि तथा विवरणहरुको माग गर्दा बेवास्ता गरिएपछि स्ववियु कार्यालयमा तालाबन्दी नै गरेको थियो । जुन हालसम्म पनि खुल्न सकेको छैन भने, तालाबन्दी लाग्दासमेत स्ववियुका सदस्य तथा पदाधिकारीहरु सम्पर्कविहीन अवस्थामा रहेको संगठनका सदस्यहरुको भनाइ छ ।