April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गाउँमा बाँझो जमिन, शहरमा आना किनेर छानाः कसरी होला समाधान ?

२०८१ फाल्गुन २४

1.3K

  • खेम सेन्चुरी

नेपालका गाउँहरूमा हजारौं रोपनी उर्वर जमिन बाँझो अवस्थामा छ । उता शहरमा युवा पुस्ता बैंकको ऋण, माइग्रेशन र साहुको उधारोमा सानोतिनो घडेरी किन्न मरिहत्ते गर्छ । गाउँका खेतबारी बाँझो पार्दै, आफ्नै पुख्र्यौली पेसा र समुदायबाट टाढिँदै उनीहरू पुँजीवादी बजारको अस्थायी ‘सफलता’ को पछि लाग्छन्, तर के यो दीर्घकालीन समाधान हो ? यो समस्या केवल बसाइँसराइको परिणाम मात्र होइन, यो पुँजीवादी प्रणालीले निर्माण गरेको चेतना, संरचना, र अर्थतन्त्रको गलत मोडेल हो । यस लेखले युवाहरू किन गाउँको उत्पादनशील जमिन छाडेर शहरमा अस्थायी र अन्योलपूर्ण जीवन रोज्छन् र यसको समाधान वैज्ञानिक समाजवादी व्यवस्थाले कसरी दिन सक्छ रु भन्ने विषयमा चर्चा गर्नेछ ।

१.पुँजीवादले सिर्जना गरेको ‘गाउँ बनाम शहर’ को भ्रम
पुँजीवादी अर्थतन्त्रले गाउँलाई गरिबी, पछौटेपन र अवसरहीनताको प्रतीक बनाएर युवाहरूलाई शहरतर्फ धकेल्ने नीति लिएको छ । उत्पादनको मुख्य आधार कृषि हुँदाहुँदै पनि ‘कृषिले केही हुँदैन’, ‘गाउँमा बसेर सम्भावना छैन’ भन्ने भ्रम सिर्जना गरियो । तर वास्तविकता के हो र?
–गाउँको जमिन उर्वर छ, तर लगानीको अभाव छ ।
–राज्यको नीति ग्रामीण उत्पादन केन्द्रित छैनन्, केवल शहरका व्यापारीलाई फाइदा हुने ढाँचामा छन् ।
–युवालाई शिक्षा, प्रविधि, र स्रोतसाधनबाट टाढा राखेर उनीहरूलाई सस्तो श्रमशक्ति बनाइन्छ ।
–यो योजनाबद्ध नीति हो, जसले उत्पादनमुखी समुदायलाई उपभोक्तामुखी बनाउँछ ।

२.उत्पादनशील जमिन बाँझो, अनुत्पादक जमिन महँगो
गाउँका खेतबारीले अनाज, तरकारी, फलफूल दिन्छन्, जुन मानव जीवनको आधारभूत आवश्यकता हो । तर शहरको ‘आना’ को घडेरी, जसले उत्पादन केही गर्दैन, लाखौँमा खरिदबिक्री हुन्छ ।
–गाउँमा जग्गा बाँझो राख्न बाध्य पारिन्छ ।
–शहरमा भूःमाफियाहरूले कृत्रिम रूपमा जमिनको मूल्य बढाउँछन् ।
–युवा पुस्ता पुँजीवादी ‘रियल स्टेट सपनाको जाल’ मा फस्छ ।
–यो पुँजीवादको एकदमै ठोस रणनीति हो— उत्पादनशील जग्गालाई बेवास्ता गर, गैरउत्पादनशील जग्गालाई महँगो बनाइदेऊ, अनि जनता श्रम बेच्न बाध्य होउन् ।

३.शहरमा घर बनाउने सपना, ऋणमा बाँधिने जिन्दगी
शहर पस्ने अधिकांश युवाको पहिलो सपना ‘घडेरी किन्ने’ हुन्छ । त्यो पूरा गर्नका लागि गाउँको सम्पत्ति बेचिन्छ । बैंक र साहुबाट ऋण लिइन्छ । जीवन साँवा ब्याज तिर्नमै बित्छ ।

परिणाम
-गाउँमा रहेको श्रमशक्ति पलायन हुन्छ ।
-उत्पादन रोकिएर समाज उपभोक्तामुखी बन्छ ।
-व्यक्तिगत रूपमा ऋणको भारी बोक्नुपर्छ, जुन अन्ततः बैंक र पुँजीवादी संस्थाहरूको फाइदामा जान्छ ।

-यो श्रमशोषणको आधुनिक रूप हो, जसले युवाहरूलाई स्वतन्त्र उपभोक्ता बनाएको भ्रम दिन्छ तर वास्तवमा उनीहरू ऋण र शोषणको जालोमा फस्छन् ।

४.श्रम बजार र शोषणको चक्र
गाउँमा उद्योग छैन, कृषिमा आधुनिकीकरण छैन र गरिखान सकिने आधार छैन । त्यसैले युवा शहर आउँछन्, तर शहरमा जागिर अभाव छ । साना उद्यमहरू मरेका छन्, किनभने ठूला पुँजीपतिहरूले बजार कब्जा गरिसकेका छन् ।
‘फुड डेलिभरी’ वा ‘अनलाइन ट्याक्सी’ जस्ता न्यूनतम ज्यालाका अस्थायी जागिरहरू मात्र बाँकी छन् । यसरी, पुँजीवादले श्रमशक्तिको ग्रामीण शोषण गरेपछि शहरी शोषण गर्छ ।

५.आत्मनिर्भर अर्थतन्त्रको अन्त्य
गाउँमा जमिन बाँझो बस्नु भनेको व्यक्तिगत हानी मात्र होइन, यो राष्ट्रिय संकट हो ।
-हामी उपभोग गर्ने खाना आयात गर्नुपर्छ ।
-आत्मनिर्भर अर्थतन्त्र ध्वस्त हुन्छ ।
-हाम्रो उत्पादनमाथि विदेशी बजारको नियन्त्रण रहन्छ ।
-गाउँका जमिन बाँझो पारेर युवालाई शहरतिर धकेल्ने र सम्पूर्ण समाजलाई पुँजीवादी उपभोक्ता बनाउनु औपनिवेशिक अर्थतन्त्रको पुनरावृत्ति हो, जुन वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र तोड्न सक्छ ।

वैज्ञानिक समाजवादी विकल्पः उत्पादनमुखी समाजको निर्माण
यो समस्याको समाधान पुँजीवादी सोच र नीतिबाट सम्भव छैन । वैज्ञानिक समाजवादी व्यवस्था मात्र यस्तो मोडेल हो, जसले गाउँ र कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै, आम युवालाई सम्मानजनक जीवन दिन सक्छ ।

१.उत्पादनका साधनको सामूहिक स्वामित्व
भूमि सुधार कार्यक्रमः किसान, श्रमिक, र सामूहिक सहकारीहरूले नै जमिनको स्वामित्व राख्नुपर्छ ।
कृषि सहकारी प्रणालीः व्यक्तिगत कृषिलाई राज्यको सहयोगमा सहकारी मोडेलमा रूपान्तरण गरिनुपर्छ ।
भूमि राष्ट्रियकरणः भूमिहीनलाई जमिन वितरण गर्दै, ठूला जमिन्दारहरूको नियन्त्रण तोड्नुपर्छ ।

२.कृषिमा आधुनिकीकरण र वैज्ञानिक लगानी
वैज्ञानिक ढंगले खेती गर्दै उत्पादकत्व बढाउन मेशिन, प्रविधि, सिँचाइ, मल र बीउमा राज्यले लगानी गर्नुपर्छ ।
आयातमा भर पर्ने हैसियत तोडेर गाउँमा आधारित रही उत्पादन केन्द्रित अर्थतन्त्र बनाउनुपर्छ ।

३.शोषणमुक्त श्रम बजारको निर्माण
युवाहरूलाई गाउँमै उद्योग, कृषि, उत्पादनमूलक सहकारीहरूमा रोजगारी दिइनुपर्छ ।
‘सस्तो श्रम बेच्न विदेश जानुपर्ने’ बाध्यता अन्त्य गर्न सामूहिक उत्पादन प्रणालीमा श्रमिकहरूको नेतृत्व आवश्यक छ ।

४.योजना अनुसारको बसाइँसराइ र सन्तुलित विकास
सहरलाई मात्र केन्द्रित गर्ने होइन, प्रत्येक क्षेत्रको विशेषताअनुसार उत्पादन एकाइहरू स्थापना गरिनुपर्छ ।
गाउँलाई उत्पादनको केन्द्र बनाएर ‘ग्रामीण औद्योगीकरण’ को नीति ल्याउनुपर्छ ।

निष्कर्ष
गाउँका जमिन बाँझो राखेर, शहरमा ऋणको भारी बोकेर बस्नु केवल व्यक्तिगत समस्या होइन, यो पुँजीवादले सिर्जना गरेको सामूहिक चेतनाको बन्धन हो । यसको समाधान व्यक्तिगत जमिन किन्ने सोचबाट होइन, सामूहिक उत्पादन गर्ने चेतनाबाट सम्भव छ । वैज्ञानिक समाजवादले मात्रः
-जमिनमाथिको पुँजीवादी नियन्त्रण तोड्छ ।
-श्रमिक किसानहरूलाई स्वामित्व र उत्पादनमा जोड्छ ।
-आत्मनिर्भर समाज निर्माण गर्छ ।
अब निर्णय युवाहरूको हातमा छ । उत्पादनशील भविष्य रोज्ने कि पुँजीवादको ऋणको भारी बोक्ने ?