April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ संविधान निर्माण गरौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी

२०८२ भाद्र २७

2.1K

प्रिय जेनजी विद्रोहीहरू, परिवर्तनकारी शक्ति र जनसमुदाय,

१. सबैभन्दा पहिले त हाम्रो वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल जेनजी युवाहरूले जेनजी आन्दोलनको रूपमा खुकुलो संगठित भई अग्रगामी परिवर्तनको स्पिरिटसहित गरेको ऐतिहासिक विद्रोहलाई हार्दिक अभिनन्दन गर्दछ । आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदप्रति पार्टी असीम स्मरण र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै, घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्थ गर्न सरकारसँँग गम्भीर माग गर्दछ । आकस्मिकझैँ लाग्ने गरी विस्फोट भएको त्यस विद्रोहलाई सम्भव, वैचारिक र व्यवहारिक तवरमा पार्टीबाट लिनुपर्ने पक्षधरता, ऐक्यबद्धता र सहभागिताबारे पार्टीले २०८२ भाद्र २३ र २४ गते जारी गरेको सार्वजनिक वक्तव्यबाट स्पष्ट नै हुन्छ । अर्थात्, पार्टी ‘जेनजी विद्रोह’को स्पिरिटसँग लगातार सँगै थियो र छ ।

२. नेपाली समाजलाई अग्रगामी शानदार परिवर्तनमा लैजान सक्ने पहिलो संविधानसभालाई देशी–विदेशी जनदुश्मनको षड्यन्त्रले विघटन गरेको थियो । त्यसपछि बनेको दोस्रो संविधानसभाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत मजदुर, किसान, उत्पीडित राष्ट्रहरू (आदिवासी जनजाति), महिला, दलित, मुस्लिम लगायतका मुक्ति आन्दोलनहरूका मुद्दालाई अत्यन्त सीमित र विकृत बनाएर नेपालको नयाँ संविधान जारी गर्‍यो । यो संविधानमा आधारित दलाल पुँजीवादी संसदीय व्यवस्था वास्तवमा नयाँ उत्पीडनकारी व्यवस्था थियो । गफहरूमा व्यवस्था फेरियो भनिएता पनि राजनीतिक परिपाटी मात्रै फेरिएको थियो । यथार्थमा व्यवस्था फेरिएको थिएन । त्यसकारण यहीँबाट नेपाली समाजमा चौतर्फी समस्या चर्किन सुरु भएको थियो । त्यो स्वाभाविक रूपमा बढ्दै गयो । समस्याहरू थपिँदै जानु स्थापित दलाल पुँजीवादी संसदीय व्यवस्थाको अनिवार्य परिपाटी थियो । संसदवादी पार्टीहरूले लुटको धन्दा चलाउँदै संविधान र व्यवस्थाको महिमामण्डन गरे तापनि त्यो झुट थियो । करिब ८० लाख नेपाली विदेशमा आधुनिक दास–श्रमिक हुनुपर्ने, उत्पादन ठप्प हुने र सुशासन शून्य हुने अव्यवस्था जारी रह्यो । यो समग्र परिस्थिति भनेको दलाल पुँजीवादी संसदीय व्यवस्थाकै असफलता थियो । त्यसो हुनाले हामी यस व्यवस्थाकै विकल्पमा नयाँ राजनीतिक आन्दोलन निर्माणमा तल्लीन छौँ । यही पृष्ठभूमिमा परम्परागत सडेगलेको संसदवादी राजनीतिबाट वाक्क भएको जेनजी विद्रोहले पनि नयाँ जीवन र परिवर्तन खोज्नु स्वाभाविक हो। यहि समग्र पृष्ठभूमिमा खड्गप्रसाद ओली र उनको नेतृत्वको सरकारको फाँसीवादी निकृष्ट व्यवहारको निमित्त कारणमाथि जेनजी विद्रोह ठिङ्ग उभिन पुग्यो ।

३. दलाल पुँजीवादी संसदीय व्यवस्थाको कहरबाट प्रताडित जेनजी आन्दोलन नेपाली इतिहासमा एक शानदार विद्रोह बन्न पुग्यो । त्यसले ‘नयाँ पुस्ता राजनीतिप्रति उदासीन छ’ भन्ने बकवासलाई ध्वस्त पारिदियो र ‘विदेश पलायन नै जीवनको बाटो हो’ भन्ने उच्च मध्यम वर्गीय चिन्तनमाथि धावा बोल्यो । तर, जेनजी आन्दोलनका गम्भीर समस्याहरू पनि थिए । एक, योसँग अनुभवको कमी थियो किनकि अनुभव हस्तान्तरण तीव्र पार्न सकिन्छ तर अकस्मात् प्राप्त गर्न सकिँदैन । दुई, यसले सामाजिक परिवर्तनका निम्ति विचारधारा, सिद्धान्त, राजनीतिक दिशा, ठोस संगठन र कार्यशैलीको महत्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्न सकेको स्थिति थिएन । तीन, जेनजी एक उमेर समूह हो तर वर्ग (Class) होइन भन्ने आधारभूत कुरामा प्रस्ट थिएन । त्यसैले वर्गीय प्रवृत्तिबाहेक नेपालमा पितृसत्ता, जात व्यवस्था, उत्पीडित राष्ट्र (आदिवासी जनजाति), मधेस आदि विषयसँग सम्बन्धित उत्पीडनको विषयसँग पनि त्यसले ठोस सरोकार सूचीकृत गरेको थिएन । चार, जेनजी आन्दोलन आजको दुनियाँमा प्रचलित पुँजीवादी व्यवस्थाभित्रै हस्तक्षेप गरेर उन्नत जीवनको सपना साकार बनाउन सकिन्छ भन्नेमा सीमित थियो । विगत पाँच सय वर्षमा नसुध्रिएको पुँजीवादी व्यवस्था नेपालमा सुध्रिन सम्भव छ कि छैन भन्ने ऐतिहासिक महत्वको प्रश्नमा त्यो प्रवेश नै गरेको थिएन । पाँच, नेपालको भू–राजनीतिक अवस्थिति, आजको विश्व साम्राज्यवादले नेपाली समाजमाथि लादेको योजना, हरेक क्षेत्रमा उसले गरिरहेको हस्तक्षेप र राजनीतिलाई आफ्नो हितमा गरिरहेको सूक्ष्म आयोजनतिर जेनजी आन्दोलनकर्मीको ध्यान पटक्कै थिएन । यी समस्याहरू आधारभूत हुन्, जसबारे सबैले विनम्रतापूर्वक शिक्षा ग्रहण गर्नुपर्ने हामी ठान्दछौँ ।

४. एकातिर दलाल पुँजीवादी संसदीय व्यवस्थाको कहरबाट नेपाली समाजमा आक्रोश बढ्दै थियो । त्यसैगरी, विदेशी शक्ति केन्द्रहरू जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र उत्पीडितहरूको आन्दोलनबाट स्थापित सीमित जनअधिकारलाई कुण्ठित पार्न लगातार लागिरहेकै थिए । उनीहरूले अनगिन्ती नामका रङ्गीन संस्थाहरू खडा गरेर लगानी गरिरहेकै थिए । रङ्गमञ्चबाट फालिएका राजतन्त्रका क्रूर अवशेषहरू पनि विभिन्न नाममा क्रियाशील थिए । धार्मिक अतिवादीहरूको तप्का पनि सयौँ तरिकाले संगठित भइरहेको थियो । यी सबै समाज र प्रगति विरोधी स–साना पक्षहरू दलाल पुँजीवादी संसदीय व्यवस्थाका हर्ताकर्ता मुख्य संसदीय पार्टीहरूको मलजलमा क्रियाशील रहेको सत्य स्थापित भइसकेको छ । अर्को महत्वपूर्ण यथार्थ के हो भने खराब राजनीतिक व्यवस्थाभित्र सामाजिक मुद्दाहरूलाई विकृत बनाउँदै अर्थव्यवस्थालाई ध्वस्त पारी कमजोर मुलुकमाथि आफ्नो कब्जा जमाउने साम्राज्यवादी नयाँ फर्मुला कसरी लागू हुन थालेको छ भन्ने कुरा श्रीलंका, बंगलादेश इत्यादि हुन् भन्ने यथार्थतिर ध्यान जानै पर्दछ ।

५. जेनजी आन्दोलनको भाद्र २३ गते सुरुवाती शान्तिपूर्ण प्रदर्शन भयो । काठमाडौँको संसद् भवन अगाडि लगायत देशका विभिन्न भागमा प्रदर्शन भयो । तर एकै दिनमा ५०० भन्दा बढी घाइते हुने र १९ जनाको गोलीबाट मृत्यु हुने स्तरमा उग्र भएको भने थिएन । सरकारको त्यो फाँसीवादी क्रूर दमनले आम जनतामा आक्रोश फैलियो र निहीत स्वार्थी तत्वहरूको निम्ति अवसर उपलब्ध भयो । आम जनता भाद्र २४ मा सडकमा न्याय र परिवर्तनका निम्ति देशव्यापी उत्रिए । कसैको ठोस र मूर्त कमान्ड नहुन पुगेको जनआन्दोलनभित्र देशी–विदेशी सबै प्रकारका संरचना र तत्वले खेल्ने अवसर प्राप्त गरे । देशव्यापी विध्वंससमेत मच्चिन पुग्यो । जेनजी आन्दोलनको स्वतःस्फूर्त आह्वान र आम जनताको अपार सहभागितामा त्यो महान् विद्रोह थियो, तर त्यसलाई प्रतिगामी स्वार्थ र विदेशी शक्तिको स्वार्थमा मोडेर नियन्त्रण बाहिर पुर्‍याइयो । नेपाली सेना र सुरक्षा निकायहरू त्यस्तो अवस्था सिर्जना हुन दिन कुनै न कुनै रूपमा प्रतिबद्ध भएको प्रस्ट देखियो । अन्ततः राज्य व्यवस्था सेनाको हातमा पुर्‍याई छाडियो । राष्ट्रपति र संसद जीवित हुँदै राष्ट्रको नाममा सेना बोल्ने अनि सेनाले नै वार्ताको नाटक गर्न थाल्यो । यसरी महान् विद्रोहमाथि देशी–विदेशी षड्यन्त्रकारीहरूले प्रतिगमन थोपरे । आज प्रतिगमन भएको छ । महान् विद्रोहलाई प्रतिगमनका निम्ति बाटो प्रशस्त गर्ने साधन बनाइएको छ, यहीँनेर गम्भीर सतर्कता आवश्यक छ ।

६. यतिखेर जेनजी विद्रोहको परिवर्तनको भावना प्रतिगामी शक्ति र यथास्थितिवादी शक्तिहरूको खेलबीच अलमलमा परेको स्पष्ट अवस्था छ । महान् विद्रोहलाई प्रतिगमनले खेलाउँदै यथास्थितिमा पछाडि धकेल्ने सम्भावना तीव्र भएको छ । महान् विद्रोहलाई सके संरचनागत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र चरम उत्कर्षमा छ । यहाँ प्रस्ट हुनै पर्दछ कि जेनजी विद्रोहको उद्देश्य र भावना एक थान संसदीय सरकार परिवर्तन र एक थान संसदीय चुनावको मञ्चन कदापि थिएन र हुन सक्दैन, किनभने त्यसरी नेपालको समाजको सङ्कट समाधान हुनै सक्दैन । दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाले मात्र समुदायलाई नै राजनीतिक निर्णय गर्न सार्वभौम बनाउन सक्छ, दलाल पुँजीवादी अर्थतन्त्रको अन्त्य गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्छ । त्यस्तो व्यवस्थाले मात्र वैदेशिक हस्तक्षेपलाई रोक्दै श्रमिक वर्गको मुक्ति, पितृसत्ता र जात व्यवस्थाको अन्त्य अनि उत्पीडित राष्ट्रहरूलाई मुक्त गर्न सक्छ । तसर्थ, जेनजी विद्रोहीको हैसियतसहित क्रान्तिकारी देशभक्त शक्तिहरू र प्रबुद्ध नागरिक समाजको राष्ट्रिय सहमतिमा दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य, अन्तरिम सरकारको गठन र नयाँ संविधानको निर्माणलाई अघि बढाउनु नै आजको सही समाधान हो । त्यस दिशामा अघि बढ्न हाम्रो पार्टी सच्चा कम्युनिस्ट तथा वामपन्थी र देशभक्त शक्ति एवं पार्टीहरूलाई हार्दिक अपिल गर्दछ ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालद्वारा भाद्र २७ मा जारी वक्तव्य